कालीमाटीमा एकाबिहानै अनुगमन टोली, दुई ट्रक नियन्त्रणमा |
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कालीमाटी तरकारी बजारमा आज बिहानै फर्सी र काँक्रो लिएर आएका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । टोलीले उपत्यकाबाहिरबाट आएका ती दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि कारबाहीका लागि नियन्त्रणमा लिएको हो ।
केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले बिलबिजक बिनै सामान ल्याएका दुई ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए । टोली सोमबार बिहानै ३ बजे अनुगमनका लागि कालीमाटी पुगेर अन्य पसल तथा सवारीहरूको पनि अनुगमन गरेको थियो ।