फेसबुकले पनि टिकटकमा जस्तै भिडिओ राख्न मिल्ने फिचर ल्याउदै |
टिकटक भारतमा प्रतिबन्ध भएपछि फेसबुकले छोटा भिडिओ बनाउन मिल्ने नयाँ फिचर परीक्षण थालेको छ । यो फिचर ’न्युज फीड’ कै बीचमा आउने टेक क्रन्च अनलाइनले जनाएको छ ।
हाल भारतमा परीक्षण भइरहेको यो छोटो भिडिओ फिचर टिकटककै जस्तो भएको सञ्चारमाध्यमले जनाएका छन् । फेसबुकको छोटो भिडिओ फिचरमा टिकटक जस्तै भिडिओ हेर्न ’स्क्रोल’ गर्नुपर्छ ।
त्यस्तै यसमा कमेन्ट्स र लाइकको पनि सुविधा छ । फेसबुकले हालै इन्स्टाग्राममा पनि टिकटककै जस्तो ’रिल्स’ फिचर ल्याएको छ । अब यस्तै फिचर फेसबुकमा ल्याउने तयारी भएको हो ।
यो परीक्षण सफल हुन्छ∕हुँदैन वा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन्छ∕हुँदैन भन्ने यकिन छैन ।
तर हाल भारतमा एन्ड्रोइड फोनहरूमा फेसबुकको नयाँ संस्करणमा यो सुविधा उपलब्ध भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
टेक क्रन्चका अनुसार फेसबुकका प्रवक्ताले पनि यसबारे जानकारी दिँदै भनेका छन्, ‘हामी सधैं नयाँ र रचनात्मक फिचरका बारे परीक्षण गरिरहेका हुन्छौं । छोटा भिडिओ बनाउनु अचेल धेरै लोकप्रिय छ । हामी यो अनुभव फेसबुकमा दिन चाहन्छौं ।’
भारतमा टिकटक बन्द भएपछि छोटा भिडिओ बनाउन मिल्ने विभिन्न एपहरू सार्वजनिक भइरहेका छन् ।