‘अन्डर डिस्प्ले क्यामेरा’ भएको स्मार्टफोन ल्याउँदै जेटई |
चिनियाँ कम्पनी जेटईले ल्याउन लागेको नयाँ स्मार्टफोनमा नयाँ प्रयोग हुने बताइएको छ । विभिन्न अन्तर्राष्ट्रिय रिभ्यु तथा ब्लग साइटहरुमा उल्लेख भएअनुसार जेटईको अक्सन २० फाइभजी फोन अहिलेसम्म अरु फोनमा नभएको फिचर्ससहित आउने दाबी गरिएको छ ।
जेटईको यो स्मार्टफोनमा डिस्प्लेभित्रै क्यामेरा हुने बताइएको छ । अहिलेसम्मका स्मार्टफोनहरुमा क्यामेरा बडी वा डिस्प्ले बाहिर देखिएको हुन्छ । यो फोनमा पहिलोपटक बडीभित्रै क्यामेरा सेट भएर आउने छ।
यो फोनमा ६४ मेगापिक्सेलको प्राइमेरी सेन्सर हुने छ । फाइभजी नेटवर्क सपोर्ट गर्ने यसको डिस्प्ले ६.९२ इन्चको हुने बताइएको छ ।
४१०० एमएएच क्षमताको ब्याट्री हुने यो फोनको सेल्फी क्यामेराको सेन्सर ३२ मेगापिक्सेलकोव हुने छ । यो फोन सेप्टेम्बर १ मा सार्वजनिक हुने बताइएको छ ।
जेटईका स्मार्टफोनका नयाँ मोडल तथा उच्च मूल्य श्रेणीका मोडल नेपाली बजारमा धेरै आउँदैनन् ।
विश्वबजारमा चिनियाँ कम्पनीहरुमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लाग्दै आएपनि पछिल्लो समय चिनियाँ कम्पनीहरुले नयाँ नयाँ प्रयोग गरिरहेका छन् । इनडिस्प्ले फिंगरप्रपिन्ट सेन्सर,पपअप क्यामेरा, उच्च मेगापिक्सेल सेन्सरजस्ता प्रयोग चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुले पहिलोपटक प्रयोगमा ल्याएका थिए ।