नेपाल टेलिकमले ल्यायो ‘ह्याप्पी लर्निङ प्याक’ |
काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिनको अवसरमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । पठनपाठनमा उपयुक्त हुने गरी ह्याप्पी लर्निङ प्याक ल्याइएको यो प्याक बुवाको मुख हेर्नेदिन (कुसे औंसी) को दिन सार्वजनिक हुने छ ।
३ सय १५ रुपैयाँमा २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुने छ । ३१५ रुपैयाँको प्याकमा २४ जीबी डेटामध्ये २० जीबी जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटजस्ता एप्लिकेसन प्रयोग गर्नका लागि हुने छ । बाँकी ४ जीबी कुनै पनि एप्लिकेसन उपयोग गर्न सकिने छ ।
५ सयको प्याकमा ३५ जीबीमध्ये ३० जीबी जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा प्रयोग गर्नका लागि र बाँकी ५ जीबी कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । दुवै प्याकेजको समयावधि २८ दिनका लागि हुने छ ।
प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा पठाउनुपर्ने छ ।
यसरी इमेलमा प्राप्त भएको अनुरोधन भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सूचना दिनेछ । एसएमएस पाएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याक खरिद गर्न सकिने छ ।
विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्ने छन् ।