नेपाली एयरलाइन्सले जापान र दक्षिण कोरियामा उडान अनुमति पाउन सकेन |
काठमाडौं । युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेकाले राष्ट्रिय ध्वजावाहकले जापान र दक्षिण कोरियामा उडान अनुमति पाउन सकेको छैन । एयरबसको ए ३३० जहाज ल्याएको एयरलाइन्सले ती देशमा उडान गर्ने योजना बनाएको थियो ।
युरोपियन युनियनको कालोसूचीको कारण देखाउँदै जापान र कोरियाले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन ढिला गरेका छनन् । जापानको टोकियो र कोरियाको इन्छन विमानस्थलमा उडान गर्न समयतालिका पाए पनि त्यहाँको नियामक निकायले अनुमति (अन्तर्राष्ट्रिय एओसी) नदिँदा अनुमति पाउन ढिला भएको प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।
कोरियाको उड्डयन सुरक्षा संसारकै कडा मानिन्छ । कोरियामा नेपाल एयरलाइन्सले उडान अनुमति पाउनु भनेको इयूको सूचीबाट उम्कनु बराबर रहेको बताइएको छ । गत असार १४ गते पहिलो ए३३० जहाज ल्याएको एयरलाइन्सले दोस्रो जहाज साउन ११ मा ल्याएको थियो । २७४ सिट भएका ती जहाज लाई लामो दुरीमा उडान गर्ने योजना एयरलायन्सले बनाएको थियो ।
इयूले केही वर्षअघि नेपाली एयरलाइन्सलाई कालोसूचीमा राखेको थियो । जुन अझै हट्न सकेको छैन । सामान्यतया ८ घण्टाको व्यावसायिक उडान गरिने जहाज अहिले ३ घण्टाको उडानमै केन्द्रीत हुँदा एयरलाइन्सले नोक्सानी बेहोरिरहेको छ ।