एनआईसी एशिया बैंकको खुद नाफा बढ्यो |
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२५ प्रतिशत बढी हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद नाफा बढेपनि बैंकको वितरण योग्य मुनाफा भने घटेको छ । यस अवधिमा बैंकले १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.०७ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १५ करोड रूपैयाँ वितरण योग्य नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेसँगै गैर सञ्चालन खर्च घटेका कारण खुद नाफामा सामान्य सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ९.२६ बढेर ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ९६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा भने १.०२ घटेर ४ अर्ब ४६ करोड रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ५१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न दबाब पुगेको हो ।
असार मसान्तसम्म बैंकले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
हाल ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो कोषमा ३ अर्ब ९८ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको रिटेन्ड अर्निङ्ग २ अर्ब ११ करोडबाट घटेर १ अर्ब ६९ करोडमा झरको छ ।
चौथो त्रैमासको प्रतिवेदन अनुसार बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसा घटेर ३२ रुपैयाँ १२ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ । त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १७.२२ गुणा कायम भएको छ । बैंकको निष्क्रिय कर्जा ०.४६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ ।
बैंकको पूँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने कोषको लागत ६.९७ प्रतिशतबाट घटेर ५.५६ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको आधार दर ७.७० प्रतिशत रहेको छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।