मेगा बैंकको नाफा ६.६३ प्रतिशतले घट्यो |
काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ । बैंकले शुक्रबार सार्वजानिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ६.६३ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड ९० लाख रुपैयाँले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
कोरोनाको कारण ग्राहकहरुमा परेको असरले बैंकको किस्ता तथा बक्यौता उठ्न नसक्दा नाफा प्रभावित भएको बैंकले जनाएको छ । बैंकको किस्ता असुली हुन नसक्दा ठुलै रकम रेगुलेटरी रिजर्भमा राख्नु परेको छ । जसले गर्दा बैंकको वितरणयोग्य नाफा अझै कम छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ छ ।
बैंकको खुद ब्याज आम्दानी केही बढेको छ भने सञ्चालन नाफा घटेको छ । त्यस्तै, खराब कर्जा पनि केहि बढेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी ३ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन मुनाफा भने २ अर्ब ३३ करोड रुपैयाँबाट घटेर २ अर्ब १५ करोड रुपैयाँमा झरेको छ ।
बैंकको कर्मचारी खर्च १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब २५ करोड पुगेको छ भने अन्य सञ्चालन आम्दानी ६२ करोड ९१ लख रुपैयाँबाट बढेर ६६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको इम्पेरिमेन्ट चार्ज ४२ करोड ६६ लाख रुपैयाँबाट बढेर ८८ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १० अर्ब ३६ करोड रुपैयाँबाट बढेर १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर १७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ७८ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६९ अर्ब ८६ करोड रुपैयाँबाट बढेर १ खर्ब १० अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ । बैंकको आधार दर ८.३२ प्रतिशत छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ । त्यस्तै, पूँजीकोष अनुपात १२.८८ प्रतिशत रहेको बैंकको सिसिडि रेशियो ७५.३५ प्रतिशत र कोषको लागत ६.९३ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात १४.३२ गुणा रहेको छ ।