माछापुच्छ्रे बैंकको नाफा २५ प्रतिशतले घट्यो |
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा इम्पेरिमेन्ट चार्ज र खर्च बढेपछि बैंकको खुद नाफामा संकुचन आएको छ । बैंकले शुक्रबार सार्वजानिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको नाफा २५.२२ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा झण्डै ४० करोड रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा बैंकको वितरणयोग्य नाफा ९० करोड ८२ लाख रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा बैंकको इम्पेरिमेन्ट चार्ज ६० करोड ४० लाख रुपैयाँ राखेको छ । अघिल्लो वर्ष यस्तो रकम ११ करोड ७१ लख रुपैयाँ थियो। कोरोनाको कारण बैंककको गत असार मसान्तमा उठ्नुपर्ने ब्याज असुलीमा समस्या हुँदा बैंकको नाफामा असर परेको बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दान गरेको छ जुन गत वर्षको तुलनामा ३२ करोड रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा ३ अर्ब ५४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा भने २ अर्ब ४० करोड रुपैयाँबाट घटेर १ अर्ब ९० करोड रुपैयाँमा झरेको छ ।
बैंकको निक्षेप संकलन ८५ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ खर्ब ४ अर्ब ९ करोडरुपैयाँ पुगेको छ भने कर्जा लगानी ७५ अर्ब ९ करोड रुपैयाँबाट बढेर ९२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी ८ अर्ब ४५ करोड रहेको बैंकको जगेडा कोष १ अर्ब ८५ करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसाबाट घटेर १४ रुपैयाँ ८० पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १४.८६ गुणा छ ।
बैंकको खराब कर्जा अनुपात ०.३७ प्रतिशतबाट बढेर ०.५४ प्रतिशत पुगेको छ। असार मसान्तसम्ममा बैंकको आधार दर ९.२१ प्रतिशत छ भने स्प्रेड दर ४.३६ प्रतिशत, सिसिडि रेशियो ७३.८१ प्रतिशत, पूँजीकोष अनुपात १३ प्रतिशत र कोषको लागत ६.७१ प्रतिशत छ ।