एउटै संस्थामार्फत आउनुस्, आवश्यक परेको मात्रामा सुन उपलब्ध गराउँछौं ः गभर्नर | विमानस्थलमा भण्डारण केन्द्रको स्थापनाका लागि राष्ट्र बैंकले सहजीकरण गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सम्पूर्ण व्यवसायीहरु एक भएर एउटै छाता संस्थामार्फत आई माग गरेमा नेपाल राष्ट्र बैंकले व्यवसायीहरूले माग गरेको मात्रामा सुन उपलब्ध गराउन सक्ने बताएका छन् । उनले शनिवार नेपाल रत्न तथा आभूषण संघको चौधौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उक्त भनाइ राखेका हुन् ।
गभर्नर डा. नेपालले सुनचाँदी तथा आभूषण व्यवसायीहरु गुटउपगुटमा लागी फुटेर विभिन्न पाँचवटा संस्थामा परिणत भएको बताउँदै त्यसरी विभिन्न संस्थामार्फत आउँदा सबैको माग पूरा गर्न राष्ट्र बैंकले नसक्ने खुलस्त पारे ।
सभामा व्यवसायीहरुले राखेको नेपाली गरगहना विदेश निर्यातका लागि स्टोल प्रशोधन केन्द्र, निर्यात केन्द्रको स्थापना, विमानस्थलमा भण्डारण केन्द्रलगायतको मागका सम्बन्धमा गभर्नर नेपालले उक्त माग सकारात्मक भएकाले राष्ट्र बैंकले सक्दो सहयोग गर्ने बताए । उनले भने, ‘आभूषण व्यवसायी संगठित भएर निर्यात केन्द्रको स्थापना गरे त्यसलाई आवश्यक सुन र स्टोन प्रशोधन केन्द्रको स्थापनालगायत कार्यमा सहयोग गर्न राष्ट्र बैंक तत्पर छ । केन्द्रमार्फत निर्यात हुने आभूषणलाई विमानस्थलमा भण्डारण केन्द्र उपलब्ध गराउनेलगायत सहजीकरण पनि राष्ट्र बैङ्कले गर्नेछ ।’
सामान्यभन्दा सामान्य वस्तुको आयात बढिरहेको बेला निर्यातको योजना लिएर आउने व्यवसायीलाई सहयोग गर्न राष्ट्र बैंक तत्पर रहेको उनको भनाइ थियो । स्टोल प्रशोधन केन्द्रका लागि आवश्यक सहयोग गर्ने उनको भनाइ थियो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विश्वका कुनै पनि देशका विमानस्थलमा मेटल फ्री नभएको भन्दै सुनचाँदी व्यवसायीलाई मर्यादित व्यवसाय गर्ने वातावरण राज्यले बनाइदिनुपर्ने धारणा राखे । उनले भने, ‘व्यावसायिक प्रयोजनाका लागि कच्चा पदार्थ आयात गर्ने व्यवसायीलाई हतियार वा लागू औषध ओसारपोसार गर्नेलाई जस्तो व्यवहार गरिनु भएन ।’
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्शका कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले नेपाली गरगहना बनाएर विदेश निर्यात गर्ने व्यवसायीले सुन आयात गर्न पाउनुपर्ने बताए । उनले भने, ‘नेपाली कालीगढ आभूषण कलामा सबल छन् । भ्यालू चेन विस्तार गर्न व्यवसायीले राज्यबाटै नीतिगत संरक्षण पाउनुपर्छ ।’
संककी अध्यक्ष ज्योत्स्ना श्रेष्ठले अर्थमन्त्रीले बजेटमार्फत १ सय ग्राम सुन भन्सार तिरेर आयात गर्न पाइने व्यवस्था बच्चालाई देखाउने ललीपप भएको बताइन् । उनले भनिन्, ‘नेपाल सरकारले हालै ल्याएको व्यवस्थाले हाम्रो व्यवसायलाई आवश्यक परेको सुन उपलब्ध गराउँदैन, पुग्दो सुन आयातमा सरकारले सहयोग गर्न आवश्यक छ ।’
कार्यक्रमका सहभागी वक्ता सबैले नेपाली गरगहना व्यवसायमा काम गर्ने लाखौं व्यक्तिको राजगारी र दशौं हजार व्यवसायीको व्यवसाय जोगाइ राख्न पनि व्यवसायीलाई आवश्यक परेको सुन राष्ट्र बैंकले उपलब्ध गराउनुपर्ने, व्यवसायी आफैंले मर्यादित रुपमा सुन आयात गर्न पाउनुपर्ने, स्टोन प्रशोधन केन्द्रको स्थापना, निर्यात केन्द्रको स्थापना, विमानस्थलमा भण्डारण केन्द्रलगायतको माग राखेका थिए ।