सुनील ग्रोवरको नयाँ कमेडी कार्यक्रम आउँदै |
बलिउड तथा भारतीय टिभी कलाकार सुनील ग्रोवर फेरि टिभीमा कमेडी कार्यक्रम लिएर फर्किने भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सुनीलले कोरोना महामारी बीच मान्छेहरूलाई हँसाउन यो कार्यक्रम ल्याउन लागेका हुन् ।
नयाँ कमेडी कार्यक्रमबारे सुनीलसँग कुरा गर्दा उनले भनेका छन्, ’मलाई अब कोरोनाको खोप बनाउन त आउँदैन । तर मान्छेहरूलाई मनोरञ्जन दिन पक्कै आउँछ । त्यसैले म यही गर्नेवाला छु ।’
त्यस्तै यो कार्यक्रमको नाम ’ग्यांग्स अफ फिल्मीस्तान’ राख्ने खबर भएको पनि हिन्दुस्तान टाइम्सले लेखेको छ ।
यो कार्यक्रम स्टार भारतमा प्रसारण हुनेछ । यो कार्यक्रममा कोही सेलेब्रेटी पाहुना वा लाइभ दर्शक भने नहुने बताइएको छ ।
सुनील यो कार्यक्रममा एक ’डन’ का रूपमा देखिनेछन् जसलाई अरू मान्छेले आएर उनलाई मनोरञ्जन गराउनु पर्ने हुन्छ ।
’पहिलो पटक म स्टेजको अर्को छेउमा हुनेछु । म परैबाट अरूको प्रस्तुति हेर्नेछु । सामाजिक दुरी पनि कायम हुने भयो नि,’ उनका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ ।
यो कार्यक्रममा सिल्पा शिन्डे, सिद्धार्थ सागर, संकेत भोस्ले, सुगन्धा मिश्रा, परितीश त्रिपाठी र जतिन सुरी जस्ता कलाकार हुनेछन् ।
सुनीलले यसमा ’द कपिल शर्मा शो’ का गुथ्थी र मसुर गुलाटीजस्ता आफ्ना पुराना पात्र भने ल्याउने छैनन् ।