‘नेपाल हाइयर एजुकेशन फेयर’ जारी | शुक्रवार मात्र ४ हजारभन्दा बढीको सहभागिता, आज शनिवार पनि जारी
काठमाडौं । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा हिजो शुक्रवारदेखि सञ्चालन भइरहेको दुईदिने ‘नेपाल हाइयर एजुकेशन फेयर’मा विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रह्यो । उक्त शैक्षिक मेलाको पहिलो दिन शुक्रवार मात्र ४ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले मेलाको अवलोकन गरेको तथा आज शनिवार पनि विद्यार्थीहरू अवलोकनका लागि आउने क्रम जारी रहेको आयोजकले जानकारी दिएका छन् ।
मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तरराष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजले विद्यार्थीहरूलाई निःशुल्क परामर्श दिइरहेको आयोजकले जानकारी दिएका छन् ।
बीबीए, एमबीए, बीआईटी, बीआईएम, बीएचएम, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएएसडब्लू, बीबीएस, बीएस्सी, सीएसआईटी, बिडेलगायत कोर्स पढ्न चाहने विद्यार्थीहरू उक्त मेलाबाट लाभान्वित भइरहेको आयोजकले बताएका छन् ।
४० भन्दा बढी कलेजहरूको सहभागिता रहेको उक्त मेलामार्फत नेपालमै अन्तरराष्ट्रियस्तरको शिक्षाका लागि विद्यार्थीहरूले निःशुल्क परामर्श लिन सक्नेछन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेको उक्त मेलाको टाइटल प्रायोजक इस्लिङ्टन कलेज रहेको छ । मेला आज शनिवार सम्पन्न हुनेछ ।