रामदेवको पतञ्जली आईपीएलको मुख्य प्रायोजक बन्ने दौडमा |
बाबा रामदेवको पतञ्जली आयुर्वेदले सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक बन्नका लागि प्रक्रिया अघि बढाएको छ ।
चिनियाँ मोबाइल कम्पनी भिभोले आईपीएलको मुख्य प्रायोजकबाट हात झिकेपछि पतञ्जलीले प्रक्रिया अघि बढाएको हो । ’पतञ्जली विश्व मार्केट गएदेखि नै हामीले आईपीएलको मुख्य प्रायोजकका लागि विचार गरिरहेका थियौ,’ पतञ्जलीका प्रवक्ता एसके तिजारावालाको भनाइ उधृत गर्दै इकोनोमिक टाइन्सले लेखेको छ ।
पतञ्जलीले सिजनको आईपीएलमा प्रायोजनका लागि भातरीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई प्रस्ताव बुझाउन तयारी गरिरहेको छ । विदेशी ब्रान्डलाई प्रायोजक बनाएको भन्दै ब्यापक आलोचना भएपछि चिनियाँ ब्रान्ड भिभो बाहिरिएको थियो। त्यसपछि राष्ट्रवादी ब्राण्ड बन्नका लागि पतञ्जलीले आईपीएलको मुख्य प्रायोजक बन्न चाहेको हो ।
रामदेवको कम्पनीले टुथपेस्ट, मह र चाउचाउका साथै प्राकृतिक उत्पादनहरु बेच्ने गर्छ । कोरोनाका कारण स्थगित आईपीएल युएईमा हुने तय छ । खेलहरु खाली रंगशालामा हुनेछन् ।
मुख्य प्रायोजकबाट भिभो बाहिरिएपछि बिसिसिआइले विभिन्न कम्पनीसँग कुराकानी गरिरहेको छ । भिभोले एक वर्षका लागि ४ सय ४० करोड भारु मुख्य प्रायोजनका लागि तिर्ने गरेको थियो ।
यसपटकका लागि बिसिसिंआईले मुख्य प्रायोजक बन्न चाहाने कम्पनीलाई ५० प्रतिशत छुट दिन प्रस्ताव गरेको बुझिएको छ । किनभने बसिसिआई अर्को वर्ष प्रायोजनका लागि अर्कै प्रायोजन गर्न तयारी गरिरहेको छ ।