करिब ५ गुणा बढ्यो एभरेष्ट इन्स्योरेन्सको खुद नाफा |
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सको खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब ५ गुणा बढी हो ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३८ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। एक वर्ष अवधिमा इन्स्योरेन्सको बीमाशुल्क करिब २ करोड रुपैयाँले बढेको हो ।
इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ११ करोड ६० लाख र लगानी कर्जा तथा अन्यबाट ७ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरी, अघिल्लो आर्थिक वर्षमा पुनर्बीमा कमिशनबापत १ करोड ५८ लाख रुपैयाँ खर्च गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ लाख ५७ हजार रुपैयाँ मात्र खर्च गरेको छ ।
यस अवधिसम्ममा इन्स्योरेन्सले ७९ हजार ५०२ बीमालेख जारी गरी ९० करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। इन्स्योरेन्सले ४ हजार १५८ दाबी वापत ४९ करोड १ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने २ हजार ८६१ दाबी वापत ९९ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २७ करोड ४५ लाख रुपैयाँ, ३२ करोड ६७ लाख रुपैयाँ बीमा कोषमा सञ्चित छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १७ रुपैंया ६२ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३ गुणा कायम भएको छ ।