घट्यो सामुदायिक लघुवित्तको नाफा |
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८ लाख ३३ हजार रुपैयाँ कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा बढेका कारण सम्भावित जोखिम बापतको व्यवस्थामा ठूलो रकम छुट्याउनु पर्दा लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।
असार मसान्तसम्ममा लघुवित्तले ४३ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन तथा ५६ करोड २० लाख रुपैयाँ सापटीबाट १ अर्ब १० करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत लघुवित्तले ८ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । लघुवित्तको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० लाख ३८ हजार रुपैयाँ बढी हो। समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १ करोड ६८ लाख रुपैयाँ घटेर १ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ३ लाख रुपैयाँ छुट्याएसँगै सञ्चालन मुनाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४५ प्रतिशतबाट बढेर ३.५८ प्रतिशत पुगेको छ ।
१० करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तको जगेडा कोषमा ७ करोड ५६ लाख रुपैयाँ रहेको थियो । सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ २३ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ७२.२० गुणा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।