टिकटकले ट्रम्पविरुद्ध अमेरिकी अदालतमा मुद्दा हाल्दै |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चिनियाँ भिडियो सेयरिङ एप टिकटकले अमेरिकी अदालतमा मुद्दा हाल्ने तयारी गरेको छ ।
अमेरिकाको नेसनल पब्लिक रेडियोका अनुसार टिकटकले मंगलबार क्यालिफोर्नियास्थित अमेरिकी जिल्ला अदालतमा ट्रम्पविरुद्ध मुद्दा हाल्नेछ ।
हालै ट्रम्पले टिकटकलाई अमेरिकाभर प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले टिकटक प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् ।
टिकटक अमेरिकी साइबर सुरक्षाको लागि खतरा भएको अमेरिकी ट्रम्प सरकारको ठहर छ । तर ट्रम्पले अवैधानिक रुपमा टिकटकलाई प्रतिबन्ध लगाएको टिकटकले सुरुवतदेखि बताउँदै आएको छ ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्मवमा रहेको टिकटकले उपलब्ध भएका कानुनी प्रक्रियाअनुसार अमेरिकी सरकारविरुद्ध मुद्दा लड्ने जनाएको छ ।
हालै मात्र टिकटक माइक्रोसफ्ट कम्पनीको स्वामित्वमा गएर अमेरिकामा सेवा दिन सहमत भएको थियो। यसबीचमा ट्वीटरले पनि टिकटक खरिद गर्न चासो देखाएको समाचारहरु आएका छन् ।