निश्चित कार्ययोजना बनाएर अघि बढ्छौं : सीईओ ज्ञवाली |
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निश्चित कार्ययोजना बनाएर अगाडि बढ्ने बताएका छन् । ʽपूर्वनिर्धारित समयमै पुनिर्निर्माणको काम सम्पन्न गर्छाैं,ʼ उनले भने । पदवहालीपछि आयोजित स्वागत कार्यक्रममा उनले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताएका हुन् ।
शुरूको चरणमा पुनर्निर्माणको जग बसाल्ने काममा आफू र कर्मचारीहरू अहोरात्र खटेको भन्दै सीईओ ज्ञवालीले भने, ‘विगतका अनुभव र पाठका आधारमा पुनर्निर्माणमा देखा परेका समस्याहरूलाई समाधान गर्दै सबैसँग सहकार्य गरी अघि बढ्नेछौं ।’ उनले स्थानीय तहमार्फत जनतालाई व्यापक परिचालन गरी आगामी वर्षलाई पुनर्निर्माणको अभूतपूर्व वर्ष बनाउनेसमेत बताए ।
उनलाई स्वागत गर्दै प्राधिकरणका सचिव अर्जुनबहादुर कार्कीले आगामी वर्षभित्र निजी आवास पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कार्यसमिति सदस्य तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।