दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने |

काठमाडौं । दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबर ९ देखि ११ (असोज २३-२५) सम्म आयोजना हुने भएको छ । कोरोनाका कारण सम्मेलन कहाँ गर्ने भन्ने तोकिएको छैन ।
सम्मेलन कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नु पर्ने रणनीतिमा केन्द्रित हुने एनआरएनएले जनाएको छ ।
सम्मेलनका लागि महासचिव डा. हेमराज शर्मालाई संयोजक तोकिएको छ भने सहसंयोजकको जिम्मेवारी आईसीसी सदस्य डा. हरिप्रसाद दाहाललाई तोकिएको छ । सल्लाहकार समितिसमेत गठन गरिएको छ ।
नेपाल सरकारको सहकार्यमा आयोजना हुने सम्मेलनमा चार प्लेनरी सेसन र १५ सिम्पोसियम सेसन रहने छन् । यी सेसनमा गैरबवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु र नेपालसँग जोडिएका विदेशी विज्ञहरुका गरी २०० बढी कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको निष्कर्षको श्वेतपत्र सरकारलाई बुझाइने एनआरएनएले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजनाका विषयमा सम्मेलनमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यपत्र तयार गर्नका लागि पनि जिम्मेवारी तोकिसकिएको छ । कार्यपत्रको सारांश १ अगष्टदेखि छ सप्टेम्बरसम्म बुझाइसक्नु पर्नेछ । उपयुक्त कार्यपत्र छनोट गरी १५ सप्टेम्बरसम्म जानकाकारी गराइने छ ।
सम्मेलनमा सहभागी हुन १ सेप्टेम्बर २०२० बाटै रजिष्ट्रेशन सुरु गरिनेछ । विदेशस्थित नेपालीहरुका लागि ६० डलर (कार्यक्रम स्थलमा) र २० डलर (अनलाइनमार्फत) शुल्क तय गरिएको छ । यस्तै स्थानीय सहभागीका लागि ४० (कार्यक्रम स्थलमा) र २० डलर (अनलाइनमर्फत) र स्थानीय विद्यार्थीका लागि २० (कार्यक्रम स्थलमा) र १० डलर (अनलाइनमार्फत) शुल्क तय गरिएको छ ।
विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ । सम्मेलनमा आमन्त्रित अतिथिका लागि भने सहभागिता शुल्क नलाग्ने एनआरएनएले जनाएको छ ।