ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन बिहीबारदेखि सञ्चालनमा | अब ३ सय मेगावाट क्षमतासम्मको विद्युत् आयातनिर्यात गर्न सकिने
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । गत सोमबारदेखि उक्त सबस्टेशनको स्तरोन्नतिको कार्य भइरहेको थियो । नेपालकै ठूलो २२०१३२ केभी ढल्केबर सबस्टेशनको बिहीबार राति ११ बजे चार्ज गरी सञ्चालनमा ल्याइएपछि अब नेपाल–भारतबीच २ सय ७० देखि ३ सय मेगावाटसम्म क्षमताको बिजुली आदानप्रदान गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
उक्त स्तरोन्नतिको कार्यसँगै अब भारतबाट पहिलोपल्ट २२० केभी प्रसारण लाइनबाट विद्युत् आयात शुरू भएको छ । यसअघि ढल्केबर सबस्टेशन निर्माण सम्पन्न नभएकाले १३२ केभीमार्फत विद्युत् आयात भइरहेको थियो ।
कार्यकारी निर्देशक घिसिङले, ‘ढल्केबर सबस्टेशन संचालनमा आउनु आन्तरिक प्रसारण प्रणाली सुदृढीकरण र दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोसेढुंगा हो, ढल्केबरमै ४००२२० केभीको अर्को सबस्टेशन निर्माण गरिरहेका छौं, यसको काम पनि डेढ वर्षभित्रमा सक्नेछौं ।’
सबस्टेशन सञ्चालनमा आएपछि हिउँदमा भारतबाट थप विद्युत् आयातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशीको निर्माण सम्पन्न भएपछि नेपालमा वर्षायाममा बढी भएको विद्युत् निर्यात गर्न तथा उक्त लाइनमार्फत इनर्जी बैकिङ गर्नसमेत बाटो खुलेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । उनले निर्धारित समयमै काम सकिएकाले समयबाटैै विद्युत् आयातको निरन्तरता भएको बताए । हाल उक्त प्रसारण लाइनमार्फत करिब एक सय मेगावाट विद्युत् आयात भइरहेको उनको भनाइ छ ।
यसअघि प्राधिकरणले उक्त त्र,सबोर्डर प्रसारण लाइनमार्फत हिउँदको पिक समयमा दैनिक १२० मेगावाटसम्म विद्युत् आयात गर्दै आएकोमा अब करिब थप १५० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।
ढल्केबर सबस्टेसन चार्ज भएसँगै भारतको पावर ग्रिडसँग भाडामा लिएर राखिएका ट्रान्सर्फमर अब राख्नु नपर्ने प्रवक्ता अधिकारीले बताए । विश्व बैकको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत उक्त सबस्टेशन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सब स्टेसनको निर्माण गरिएको हो ।
प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँग १२ जून २०१४ मा हेटौंडा, ढल्केबर र इनरुवामा सबस्टेशन बनाउन ठेक्का सम्झौता गरेको थियो । तर, उक्त निर्माण कम्पनीको काम सन्तोषजक नभएपछि प्राधिकरणले उक्त ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोडेर भारतीय ठेकेदार कम्पनी टेलमोसले ६ महिनामा काम सक्ने गरी ठेक्का पाएको थियो ।