टुन्वालका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्ता छन् मोडल र विशेषता |
काठमाडौं । नेपाली बजारमा भारतीय इलेक्ट्रिक ब्रान्ड टुनवालका इलेक्ट्रिक स्कुटर उपलब्ध भएका छन् । नेपालका लागि आधिकारिक विक्रेताको रुपमा परिमिता इन्भेस्टमेन्ट प्रालिले यी स्कुटर उपलब्ध गराएको हो ।
हाल चार मोडलका स्कुटर उपलब्ध भएको कम्पनीको भनाइ छ । यसमा रोमा एस, लिथिनो २.०, स्टोर्म जेडएक्स र लिथिनो लि स्कुटर बिक्रीका लागि उपलब्ध भएका छन् ।
रोम एस दुई भेरिएन्टमा उपलब्ध छ । एउटामा लिथियम आयोन र अर्कोमा लिड एसिड ब्याट्री प्रयोग गरिएको छ । लिथियम आयोन ब्याट्रीयुक्त स्कुटरले फुल चार्जमा एक सय किलोमिटर माइलेज दिन्छ । यसलाई फुल चार्ज हुन ३ घण्टा लाग्ने बताइएको छ ।
त्यसैगरी अर्को लिड एसिडयुक्त ब्याट्रीलाई फुल चार्ज हुन ५ देखि ६ घण्टा लाग्छ र फुल चार्जमा ६० किलोमिटर चलाउन सकिन्छ । लिथिनो २.० मा पनि लिड एसिड ब्याट्री छ । यसले फुल चार्जमा ५० किलोमिटर माइलेज दिन्छ ।
स्टोर्म जेडएक्स पनि दुई भेरिएन्टमा उपलब्ध छ । लिड एसिड ब्याट्रीले फुल चार्जमा ५० किलोमिटर र लिथियम आयोन ब्याट्रीले एक सय किलोमिटर माइलेज दिन्छ ।
लिथिनो लि स्कुटरमा लिड एसिड ब्याट्री प्रयोग हुन्छ । यसले ५५ देखि ७० किलोमिटर सम्म माइलेज दिन्छ । यी स्कुटरलाई रिमोटबाटै अन र अफ गर्न सकिन्छ । त्यसैगरी यसबाटै पछाडिको ह्विल लक गर्न सकिने सुविधा छ भने एन्टी थेफ्ट सिष्टम पनि छ ।
स्टोर्म जेडएक्स वाहेक अन्य सबै स्कुटरमा मोबाइल चार्जिङ प्वाइन्ट छ । रोमा एसमा रिभर्स ब्याक गर्न सकिने सुविधा समेत छ । यी स्कुटरको मूल्य मूल्य १ लाख ५१ देखि २ लाख १५ हजार रुपैयाँ सम्म तोकिएको छ । यी स्कुटर चार्ज गर्न १ देखि २ युनिट मात्र विद्युत खपत हुने भएकाले धेरै नै किफायती हुने कम्पनीको भनाइ छ ।
यी स्कुटर किन्न चाहनेका लागि शून्य प्रतिशत ब्याजदरमा नेपाल इन्भेस्टमेन्ट बैंकबाट ऋण समेत उपलब्ध हुने बताइएको छ ।