कान्तिपुर टिभीको कार्यक्रम ‘’ह्वाट द फ्ल्प’ बाट मिठाईलाल पात्र हटाइयो |
काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ’ह्वाट द फ्ल्पलाई संशोधन गरिएको छ । अब सो कार्यक्रममा सन्दीप क्षेत्री ‘मिठाइलाल जादव’को भूमिकामा देखिने छैनन् । त्यो कार्यक्रमका सञ्चालक सन्दीप क्षेत्रीले मिठाईलाल जादवको चरित्रमा अभिनय गर्दा मधेशी समुदायलाई होच्याउने गरेको गुनासो भइरहेको थियो ।
त्यसैबीचमा असार ११ गते सन्दीप क्षेत्रीले एउटा मधेशी महिलाको चरित्रमा अभिनय गरेर मधेशका महिलालाई होच्याएको गुनासो गर्दै कान्तिपुर टेलिभिजनमाथि प्रेस काउन्सिलमा उजुरी परेको थियो । मधेशका एकजना युवा डा.शरदसिंह यादवले सो उजुरी गरेका थिए । प्रेस काउन्सिलले त्यसमा छानविन गर्दै कान्तिपुरलाई पत्र पठाएको थियो ।
सो पत्रको जवाफ दिँदै कान्तिपुर टेलिभिजनले सो कार्यक्रममा संशोधन गरिएको जनाएको छ । सो कार्यक्रममा रहेका मिठाईलाल जादव पात्र हटाइएको छ । कान्तिपुरले काउन्सिललाई लेखेको पत्रमा भनिएको छ, ‘असार ११ गते प्रसारण भएको ’ह्वाट द फ्ल्प’ कार्यक्रममा मधेशी महिला पात्र प्रसारण भएकोमा मिति २०७७ असार १६ गते कार्यक्रम प्रेजेन्टर एवम् प्रोड्युर सन्दीप क्षेत्री, विशाल घोस र सेन्सर गर्ने रमेश शाही ठाकुरीलाई लिखित स्पष्टिकरण सोधिएको र उहाँलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि सेन्सरबाट निलम्बन गरिसकेको जानकारी गराउँदछौं ।’
साथै सो पात्र चित्रण गरिएकोमा उनीहरुलाई माफी माग्न समेत लगाइएको छ । माफी मागेको कुरा सोही कार्यक्रममा प्रसारण पनि गरिएको थियो । मिठाईलाल पात्र प्रयोग नगरी कार्यक्रम निर्माण एवं प्रसारण गर्नका लागि पनि कान्तिपुर टेलिभिजनको व्यवस्थापनले निर्देशन दिएको छ । अब उप्रान्त भविष्यमा आफ्नो कार्यक्रममा नेपालको संविधान र सञ्चारमाध्यमसम्बन्धि नीति २०६८ मा उल्लेख भए अनुसार कुनैपनि जात,जाति, धर्म, भाषा, रंग, समुदाय इत्यादिमा होच्याउने र टिकाटिप्पणी सम्बन्धी कुनै पनि दृश्य नराख्न सचेत गराइएको पनि काउन्सिललाई लेखिएको पत्रमा उल्लेख गरिएको छ ।