भारतद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान |
काठमाडौं । हरेक वर्षको स्वतन्त्रता दिवसको अवसर पारेर छिमेकी मुलुक भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, परोपकार संस्थालगायत क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ । भारतले यस पटकको ७२औं स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । लैनचौरस्थित भारतीय दूतावासमा बुधवार आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले सम्बन्धित संघसंस्थाका प्रतिनिधिलाई ती एम्बुलेन्स र बसहरू हस्तान्तरण गरेका हुन् ।
भारतले यसअघि स्वतन्त्रता दिवसकै अवसर पारेर ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ । भारतले यसपटक पनि विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरूलाई एम्बुलेन्स र बस प्रदान गरेको हो ।
कार्यक्रममा भारतीय सेनामा रही कार्य गर्ने क्रममा वीरगति प्राप्त गरेका तथा अपांगता भएका सेनाका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्बल पनि वितरण गरियो । सो अवसरमा भारतीय सांस्कृतिक केन्द्र, केन्द्रीय विद्यालय, मोर्डन इण्डियन स्कुलका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत गाएका थिए ।
कार्यक्रममा राजदूत पुरीले झण्डोत्तोलन गर्नुका साथै राष्ट्रपति रामनाथ कोविन्दले देशवासीको नाममा दिएको सन्देश पढेर सुनाएका थिए । सन्देशमा भारत स्वतन्त्र भएको ७१ वर्षयताका उपलब्धिहरूको चर्चा गरिएको छ । समारोहमा भारतीय दूतावासका कर्मचारीहरु, उनीहरुका परिवारलगायत नेपालमा रहेका भारतीय समूदायको सहभागिता रहेको थियो ।