आयात र निर्यात दुबै घट्दा वैदेशिक व्यापार १४.६९ प्रतिशतले घट्यो | ११ खर्ब ९६ अर्बको आयात र ९६ अर्ब १५ करोडको निर्यात
काठमाडौं । गत आर्थिक वर्षमा नेपालले कुल १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । आर्थिक वर्ष २०७५∕७६ मा १५ खर्ब १५ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो । गत वर्ष व्यापार १४.६९ प्रतिशतले घटेको छ ।
गत वर्ष आयात र निर्यात दुबै घट्दा वैदेशिक व्यापार घटेको हो । आयात निर्यात घटेपछि व्यापार घाटा पनि घटेको छ । गत आर्थिक वर्षमा करिब १७ प्रतिशतले व्यापार घाटा घटेको छ । गत आर्थिक वर्षमा नेपालले ११ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा रहेको छ । अघिल्लो आर्थिक वर्षमा १३ अर्ब २१ अर्ब रुपैयाँको वैदेशिक व्यापार घाटा रहेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आयातमा आयातमा १५.६३ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्षको सुरुदेखि नै घट्दै आएको आयात कोरोना भाइरससँगै भएको लकडाउनले अझ घटाएको हो । गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको मालवस्तु आयात भएकोछ । अघिल्लो आर्थिक वर्षमा कुल १४ खर्ब १८ अर्ब ५३ करोडको मालवस्तु आयात भएको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।
कोभिडका कारण भएको लकडाउनका कारण आयातजस्तै निर्यात पनि केही खुम्चिएको छ । लकडाउन अघिसम्म आयात घट्दै गएको थियो भने निर्यात बढ्दै गएको थियो । तर, लकडाउन पछि भने निर्यात व्यापार पनि घटेको छ । गत आर्थिक वर्षमा निर्याततर्फको व्यापारमा पनि सुस्तता आएको छ । आर्थिक वर्षमा कुल ९७ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो । गत आवमा ९६ अर्ब १५ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।
आर्थिक वर्षको अन्त्यसम्ममा कुल वैदेशिक व्यापारमा ९२.५६ प्रतिशत आयातको हिस्सा र ७.४४ प्रतिशत निर्यातको हिस्सा छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म आयातको हिस्सा ९३.५९ प्रतिशत र निर्यातको ६.४१ प्रतिशत रहेको थियो ।