१३३ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु | मृत्यु हुनेको संख्या ४४ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८∕८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५∕५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४∕४ जनामा संक्रमण पुष्टि भएको छ ।
लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २∕२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एक∕ एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।
थप एकको मृत्यु
यस्तै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–११ कि ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।
उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । र साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार गण्डकमा सारिएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।