चोभारमा बन्न लागेको सुक्खा बन्दरगाहको निर्माण शुरू | दुई वर्षभित्र सञ्चालनमा आउने
काठमाडौं । चोभारमा सरकारले निर्माण गर्न लागेको ‘काठमाडौं कन्टेनर फ्रेट स्टेसन’ (सुक्खा बन्दरगाह) को निर्माण आज बुधवारबाट शुरू भएको छ । विदेशबाट सामान आयात गर्न र नेपालबाट उत्पादित सामान निर्यात गर्न यो बन्दरगाह प्रयोग हुने गरी निर्माण गर्न लागिएको हो । यसलाई दुई वर्षभित्र सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ ।
यस बन्दरगाहलाई चिनियाँ तथा भारतीय रेलको स्टेशनसँगै जोडिने बताइएको छ । साथै, यो बन्दरगाह बाहिरी चक्रपथसँग पनि जोडिनेछ । चिनियाँ रेल केरुङबाट सीधै चोभार स्टेशनसम्म आइपुग्ने गरी यस परियोजनालाई अगाडि बढाउन लागिएको छ ।
बन्दरगाह बन्ने भएपछि बल्खुबाट चोभारसम्मको सडक पनि ६ लेनको बन्नेछ । यो बन्दरगाहलाई बल्खु रोडमा, निर्माणाधीन बाहिरी चक्रपथमा पनि जोडिनेछ । यो बन्दरगाह निर्माणले भारत तथा चीनका स्वीकृत बन्दरगाहबाट सोझै मालसामान ओसारपसार गर्न सकिनेछ ।
कीर्तिपुरस्थित चोभारमा एक सय ५० वटा गाडी, कम्तीमा ६ सय वटा कन्टेनर अट्ने वेयरहाउस सहितको सुक्खा बन्दरगाहको निर्माण गर्न लागिएको हो । यसमा एउटा आकासे पुल पनि निर्माण हुनेछ । हिमाल सिमेन्टले उपभोग गरेको करीब एक हजार ५४ रोपनी जग्गामध्ये दुई सय २५ रोपनी जग्गामा सुक्खा बन्दरगाह र बाँकी आठ सय रोपनीमा अन्तरराष्ट्रिय प्रदर्शनी कक्ष बनाउने सरकारी योजना छ ।
विश्व बैंकको करिब २ अर्ब २५ करोड रुपैयाँ लागतमा यो बन्दरगाह चोभारमा बन्न लागेको हो । सरकारले सन् २०१३ मा विश्व बैंकसँगको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्छ ।