ट्रम्पले पहिलोपटक लगाए मास्क |
कोरोनाभाइरसको संक्रमण रोक्न मास्क लगाउनु पर्ने विज्ञहरूको सुझावलाई निरन्तर लत्याउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्क लगाएर सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
शनिबार एक मिलिटरी अस्पताल भ्रमणका क्रममा ट्रम्पले कालो मास्क लगाएको तस्बिर सार्वजनिक भएको छ ।
ट्रम्प हेलिकप्टरबाट वासिङ्टनस्थित वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक र कोभिड–१९ का बिरामीको हेरचाहमा खटिएका व्यक्तिहरू भेट्न गएका थिए । ह्वाइटहाउसबाट निस्किने बेला उनले संवाददाताहरूलाई भनेका थिए, तपाईं जब अस्पतालमा हुनुहुन्छ, मलाई लाग्छ मास्क लगाउनु एकदमै राम्रो काम हो ।
कोरोनाभाइरसको ब्रिफिङका क्रममा ट्रम्पले कहिल्यै पनि मास्कको प्रयोग गरेनन् । त्यतिमात्र होइन आफ्नो चुनावी र्यालीमा पनि उनी मास्क नलगाई गएका थिए ।
मास्क लगाउनेबारे अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटहरूबीच राजनीति छ । तुलनात्मक रूपमा धेरै डेमोक्र्याटहरूले मास्क लगाउँछन् भने ट्रम्पको सिको गर्दै रिपब्लिकनहरूले मास्क लगाउन मान्दैनन् ।
ट्रम्पले अब सधैं मास्क लगाउँछन् कि लगाउँदैनन् भन्ने एकिन छैन । अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ । अहिलेसम्म त्यहाँ ३२ लाख मानिसमा संक्रमण देखिएको छ भने १ लाख ३४ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।
विज्ञहरूको सुझाव नमान्ने, सामाजिक दूरी र लकडाउनको विरोध गर्ने ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत साता कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।