रुरु जलविद्युतले प्रिमियमसहित आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो |
काठमाडौं । रुरु जलविद्युत परियोजनाले प्रतिकित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँ निष्काशन गर्न अनुमति माग गर्दै बोर्ड पुगेको हो ।
परियोजनाको २०७६ भदौ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले सर्वसाधारणमा प्रिमियम सहित आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । त्यस अनुसार अंकित मुल्यमा २० रुपैयाँ थप प्रिमियम सहित आईपीओ निष्काशनको माग गर्दै धितोपत्र बोर्ड पुगेको हो ।
परियोजनाले स्थानिय र सर्वसाधारणको लागि ८ लाख १५ हजार ४११ कित्ता शेयर जारी गर्न असार २५ गते बोर्डमा आवेदन दिएको छ । त्यसमध्ये परियोजना प्रभावित स्थानियको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०५ कित्ता र सर्वसाधारणको लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गर्नेछ ।
स्थानियको लागि प्रति कित्ता १०० रुपैयाँ र अन्य सर्वसाधारणको लागि प्रति कित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गर्नेगरी परियोजनाले बोर्डमा अनुमति मागेको हो ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ’इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस’ रिटिङ्ग दिएको छ । यसले कम्पनीको अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ ।
परियोजनको शेयर निष्काशन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।