बोलबमका भक्तजनलाई वृज सिमेण्टको सेवा |
काठमाडौं (आपास) । वृज सिमेण्ट उद्योगले साउनको अन्तिम सोमवारको अवसर पारेर सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । उद्योगले बोलबमका भक्तजनहरूलाई ती स्थानमा निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जूसलगायत सेवा प्रदान गरेको थियो । उद्योगले लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेण्टर, चाबहिलसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।
सोमवार विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई कार्यक्रमका सय जनाभन्दा बढी स्वयंसेवकहरूले आठ स्थानमा सेवा दिएका थिए । साथै, पशुपतिनाथमा भक्तजनलाई निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरियो । सो शिविर आँखा, दाँत र जनरल चेकअपका साथै रक्तचापको परीक्षणसमेत गरियो । करीब २ हजार ५ सय धर्मावलम्बी उक्त स्वास्थ्य शिविरबाट लाभान्वित भएको उद्योगले जानकारी दिएको छ । उद्योगले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम गरेको हो ।