महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशतमै दिन थाल्यो घर र शिक्षा कर्जा | पहिलो ५ वर्षसम्म ब्याज मात्र तिरे पुग्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ सुविधा ल्याएको छ । बैंकले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जा जम्मा १२.९९ प्रतिशत ब्याजदरमै उपलब्ध गराउने सुविधा ल्याएको हो । यो सुविधामार्फत ग्राहकहरूले घर कर्जामा ५ लाखदेखि ५ करोड रुपैयाँसम्मको कर्जा र शैक्षिक कर्जामा ५ लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउन बैंकले बताएको छ ।
उल्लेखित कर्जाहरू देशका जुनसुकै शाखाबाट पनि लिन सकिने बैंकले बताएको छ । महालक्ष्मी घर कर्जा २० वर्षसम्मको हुने र यसमा ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नेछन् । यो सुविधाअन्तर्गत कर्जा स्वाप गर्न पनि सकिनेछ ।
त्यस्तै, महालक्ष्मी शैक्षिक कर्जा स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि ल्याइएको सुविधा हो । यसमा विद्यार्थी वर्गले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लेखित कर्जा लिन सक्नेछन् । यो कर्जा लिँदा पहिलो ५ वर्षसम्म ब्याज मात्र बुझाए पुग्ने बैंकले बताएको छ ।