थपिए ४७३ जना कोरोना संक्रमित, काठमाडौं उपत्यकाका ३२ जनामा संक्रमण पुष्टि | कोरोना संक्रमणबाट ४९ दिनका शिशुको मृत्यु, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो
काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंमा १७ महिला र ११ पुरुषमा संक्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २∕२ जना संक्रमित भेटिएका छन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । यस्तै आइसोलेसना १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।
सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ ।
हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक शिशुको २०७७ असार १७ गते साँझ ४ बजे मृत्यु भएको हो ।
प्रवक्ता गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर चारका ४९ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको बताए । उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।