टिकटकसहित करीव ६० चिनियाँ मोबाइल एपमाथि भारतले लगायो प्रतिबन्ध |
भारत सरकारले टिकटक र वि च्याटसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि प्रतिबन्धको घोषणा गरेको छ । सोमबार उसले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको जनाएको छ ।
भारतको यो निर्णय दुई साता अगाडि चीनसँगको सीमाक्षेत्रमा रहेको गलवान उपत्यकामा भएको हिंस्रक झडपमा २० सैनिकको मृत्यु भएपछि आएको हो ।
घटनाका कारण हाल दुबै देशको दशकौंपछि गम्भीर मोडमा पुगेको ठानिएको छ । घटनामा भएको चिनियाँ हताहतीको भने सार्वजनिक हुन सकेको छैन । भारतले घटनाको चीनसँग बदला लिने जनाउँदै आएको भएपनि आर्थिक र सैन्य हिसाबले चीन भन्दा धेरै पछाडी रहेको भारतसँग बदला लिनका लागि धेरै विकल्प छैन ।
चिनियाँ टेलिकम्युनिकेसन तथा सामाजिक संजाल कम्पनीले आफ्ना उत्पादनका लागि भारतको विशाल बजार र त्यसको सम्भावनामा चासो देखाउँदै आएका छन् । भारतको ५० प्रतिशत जनसंख्या इन्टरनेटमा पहुँचमा रहेको छ ।
दि न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । यी एपहरू भारतीय मोबाइल प्रयोगकर्तामाझ एकदमै लोकप्रिय रहँदै आएका छन् ।
विज्ञहरूले विश्वका कुल टिकटक प्रयोगकर्तामध्ये झण्डै एक तिहाई प्रयोगकर्ता भारतबाट रहेको बताएका छन् ।
चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गर्दै भारतको विद्युतिय र संचारप्रविधि मन्त्रालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा यी चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको जनाएको छ ।
’यी तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ता विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छ’, सो विज्ञप्तिमा भनिएको छ ।
चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन ।