कानून नबनाईकन जथाभावी र दोहोरो कर नअसुल्न अर्थमन्त्रीको कडा निर्देशन | तिर्न नसक्नेलाई अब करको बोझ नथोपरिने
काठमाडौं । स्थानीय निकायले जथाभावी दोहोरो कर असुलेका समाचार आइरहेकै बेला अर्थमन्त्री डा. युवराज खतिवडाले कानून नबनाइकन त्यसरी जथाभावी र दोहोरो कर नअसुल्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् । उनले आइतबार काठमाडौंमा आयोजित व्यवस्थापन गोष्ठीमा बोल्दै निर्देशन दिएका हुन् ।
सो अवसरमा उनले आफ्नो क्षेत्राधिकारबाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराए । संघीयता कार्यान्वयनका लागि लोककल्याणकारी राज्यको अवधारणा र सामाजिक न्यायका अवधारणाअनुरुप कर असुलीको काम गरिरहेको उनको दाबी छ ।
अर्थमन्त्री खेतिवडाले तिर्न नसक्नेलाई करको बोझ नलगाउनेसमेत स्पष्ट पारेका छन् । हाल करकै विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहँदा उनले कमजोर वर्गलाई कर नलगाउने स्पष्टीकरण दिएका हुन् ।
उनले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा पनि करको प्रावधान राखिएको बताउँदै राज्यले कमजोर समुदायलाई लाभ हुने गरी विकास, निर्माण र सेवाको कामलाई अगाडि बनाउन कर लिने गरेको बताए । उनले करको दुरुपयोग हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरे ।