अपि पावरले ४० मेगावाटको माथिल्लो चमेलिया बनाउने | नेपाल प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता
काठमाडौं । अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । शुक्रबार अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच आयोजनाको ग्रिड कनेक्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा अपि पावर कम्पनीको तर्फबाट कम्पनीका सञ्चालक महेन्द्र न्यौपाने र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालक विभागका निर्देशक दिर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन । यस सम्झौता अनुरुप अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिललो चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ केभि वसबारमा जडान गरिनेछ ।
४० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्नपछि नेपालको सुदूर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले जलविद्युतबाहेक १८ मेगावाटको सौर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जारी गरेको टेण्डरमा सहभागी भइ १८ मेगावाट क्षमताको सोलार आयोजना परेको थियो ।
कम्पनीले प्राप्त गरेको १८ मेगावाट क्षमताको सोलार आयोजना यसै आर्थिंक वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गरी राष्ट्रिय उर्जा संकट कम गर्ने लक्ष्य राखेको छ ।