यसवर्षको एसईई परीक्षा नलिने सरकारको निर्णय, आन्तरिक मूल्यांकनबाटै नतिजा |
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषदमा लगेको एक मन्त्रीले आर्थिकपाटीलाई जानकारी दिए । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाई छ । ती मन्त्रीका अनुसार विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुनेछ ।
गत चैत ६ गते नै हुनुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।
यसअघि विभिन्न शिक्षासम्बन्धी संघसंगठन र सरोकारवालाले पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न सरकारलाई सुझाउँदै आएको थियो । तर सरकारले निर्णय गर्न ढिलाइ गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थीमा तनाव सिर्जना हुँदै आएको छ ।
योसहित मन्त्रिपरिषद्को निर्णयहरु औपचारिक रुपमा बिहीबार मात्रै सार्वजनिक गरिने बताइएको छ ।