विश्व बैंक बोर्डले गर्यो ५ वर्षे सीपीएफ स्वीकृत | सहायता रकम दुई गुणाले बढ्ने
काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा)बाट नेपालले प्राप्त गरिरहेको सहयता दोब्बरले बढ्ने भएको छ । आगामि वर्ष सन् २०१९ मा नेपालमा उसले दिने सहयोग यो वर्ष सन् २०१८ को भन्दा दुई गुणाले बढ्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन ।
विश्व बैंक र नेपालबीचको ५ वर्षीय देशीय साझेदारी ढाँचा (कन्ट्री पार्टरसिप फ्रेमवर्क–सीपीएफ) अन्तर्गत आइडाले नेपालमा गर्ने सहयोग बढाउने भएको हो । दुई पक्षबीच आगामी ५ वर्ष (२०१९ देखि २०२३) का लागि सिपिएफ तयार भई विश्व बैंकको बोर्डबाट पारित पनि भइसकेको छ ।
हाल नेपालले २ अर्ब ७० करोड अमेरिकी डलर बराबरका २३ आयोजना विश्व बैंक समूहको सहयोगमा अगाडि बढाइरहेको छ । सरकारले तयारी अवस्थामा रहेका र तत्काल प्रतिफल दिन सक्ने आयोजनामा लगानी बढाउन लगानीका अवसर खोज्ने क्रममा विश्व बैंकसँग सहायता बढाउन आग्रह गरेको हो ।
विश्व बैंक एवं अन्य दातृ निकाय एवं अमेरिकी सरकारका प्रतिनिधिसँगको छलफलका क्रममा अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन र विकासका आवश्यकता पुरा गर्न लगानी बढाउन आग्रह गरेका थिए । नेपालले भूकम्पपछिको पुनर्निर्माणको क्रममा निजी आवास निर्माणमा सहयोग बढाउन पनि विश्व बैंकसँग प्रस्ताव गरेको छ । नेपालको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग गरिरहेको विश्व बैंकलाई आफ्नो सहायता बढाउन र अन्य स्रोत खोजिदिन पनि सरकारले आग्रह गरेको छ ।
विश्व बैंक र अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्व बैंकमा नेपाल डे पनि मनाइएको छ । विश्व बैंक समूह र अमेरिकास्थित नेपालमा सहयोग गरिरहेका दातृ निकायका प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए ।
अर्थमन्त्री खतिवडा अघिल्लो शनिबार अमेरिका प्रस्थान गरेका थिए । एक साता अमेरिका बसाईका क्रममा उनले विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, अन्तर्राष्ट्रिय मुद्रा कोष, मिलिनियम च्यालेन्ज कोअपरेसनलगायतका संस्थाका उच्च व्यवस्थापनसँग नेपालमा लगानीको संभावनाबारे ब्रिफिङ गरेका थिए ।