देवः विकास बैंकको अध्यक्षमा गुरुङ |
काठमाडौं (आपास) । देवः विकास बैंक लिमिटेडको अध्यक्षमा वज्र गुरुङ चयन भएका छन् । उनलाई बैंकको सञ्चालक समितिको बैठकले सो पदमा सर्वसम्मतिबाट चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष गुरुङ यसअघि सञ्चालक समितिको सदस्य पदमा रहेका थिए । नेपाली सेनाबाट अवकाशप्राप्त उपरथी गुरुङले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर्सको तर्फबाट प्रतिनिधित्व गरेका हुन् । उनी २०६५ चैत २७ गतेदेखि यस बैंकको सञ्चालक समितिका सदस्यमा पद रहेका थिए ।
नवनियुक्त अध्यक्ष गुरुङलाई नेपाल राष्ट्र बैंकमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
यसअघि सोही बैठकबाट प्रा.डा. सुवर्णलाल वज्राचार्यले सञ्चालक समितिको अध्यक्ष पदबाट दिएकोे राजीनामा स्वीकृत गरिएको थियो भने महेश प्रधानले सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा पनि स्वीकृत गरिएको थियो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा १ मा भएको सञ्चालक समितिका सदस्यरूसम्बन्धी नयाँ व्यवस्थाबमोजिम सदस्य कायम गर्न उनीहरुले आआफ्नो पदबाट स्वःईच्छा राजीनामा दिएका थिए ।