रोमानियाका प्रधानमन्त्रीले ‘लकडाउन’ उल्लंघन गर्दा ८० हजार बढी जरिवाना |
आफैंले लागू गरेको लकडाउन उल्लंघन गरेपछि रोमानियाका प्रधानमन्त्रीले जरिवाना तिरेका छन् । कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउनको समयमा लगाइको प्रतिबन्धको अवज्ञा गरेपछि शनिबार रोमानियाका प्रधानमन्त्री लुडोभिक अर्वानले जरिवाना तिरेका हुन् ।
प्रधानमन्त्री अर्वानले आफ्ना क्याबिनेटका सदस्यहरूसँग अफिसमै धुमपान गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्बिरमा सदस्यहरूले मास्क नलगाइ टेबुलमै राखेको देखिएको थियो ।
उक्त कुराको व्यापक आलोचना भएपछि प्रधानमन्त्री अर्वानले ६९० अमेरिकी डलर जरिवाना तिरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
उनले पछि विज्ञप्ति जारी गर्दै मे २५ मा आफ्नो ५७ औं जन्मदिन भएको जानकारी दिएका थिए । साथै आफूहरू काम सकिएपछि अफिसमा भेला भएको उनको भनाइ थियो ।
रोमानियामा ६० दिनको लकडाउन मे १५ मा सकिएको थियो । तर अर्वानको सरकारले ३० दिन ’स्टेट अफ अलर्ट’ कायम गर्न निर्देशन दिएको थियो। जहाँ सार्वजनिक यातायात तथा सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको थियो । रोमानियामा घरभित्र धुमपान गर्न सन् २०१६ देखि प्रतिबन्ध लगाइएको छ ।
सोमबारदेखि त्यहाँ बाहिर बस्न मिल्ने गरी रेष्टुरेन्टहरू खोल्न दिने भएको छ । शनिबारसम्म रोमानियामा १९ हजार एक सय ३३ संक्रमित छन् भने एक हजार दुई सय ५३ जनाले ज्यान गुमाएका छन् ।