बुटवल । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्यु बिहीबार विहान भएको बताए ।
निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।
कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
यसअघि कोरोना संक्रमणका कारण नेपालमा सिन्धुपाल्चोककी २९ वर्षकी सुत्केरी महिला र बाँके नरैनापुरका २५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
एक हप्तादेखि ज्वरो
उनी गुल्मी मदाने–६ पुर्कोटदहको निमाविका प्रधानाध्यापक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए । त्यहाँ उनलाई म्यालपोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिएका थिए । औषधि खाएपछि उनलाई दुई दिन जति सञ्चो पनि भएको थियो ।
तर १ गते वान्ता भएपछि फेरि क्लिनिकमा पुगे । म्यालपोखरी स्वास्थ्य चौकी मदानेका स्वास्थ्यकर्मी समेत रहेका भुसालले जण्डिस भएको बताए । लगतै स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्क्स्थित छायाँ पोलिक्लिनिकमा पुर्याए ।
त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरे । र, बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।
सन्धिखर्कबाट विरामी शिक्षकसँगै उनका साला मात्र मणिग्राम आएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको छ ।