जनता बैंकद्वारा अन्तरराष्ट्रिय रेमिट्यान्स सेवा शुरू |
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले इण्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘जनता रेमिट’ मार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालाई सहज आन्तरिक रेमिट्यान्स सेवा पुर्याउँदै आएको बैंकले अबदेखि विदेशमा रहेका ग्राहकहरूले पनि सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
बेक्स मनी बहराइन एक्सप्रेस एक्सचेन्ज, बहराइन र जनता बैंक नेपाल लिमिटेडबीच हालै भएको सम्झौताअनुसार अब बहराइनमा रहेका नेपालीहरूले जनता रेमिटमार्फत सहज रूपमा आफ्नो कमाइ नेपालमा रहेका आफन्तलाई सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।
बहराइनबाट जनता रेमिटमार्फत पठाइएको रकम जनता बैंकका देशभर रहेका जुनसुकै शाखा तथा त्यसका अतिरिक्त १६ हजारको संख्यामा छरिएर रहेका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जीएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन् । जनता रेमिट सेवा निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएईबाट समेत शुरु गरिने बैंकले जानकारी दिएको छ ।