वादी समुदाय उत्थान विकास समितिलाई सशक्त बनाउन जोड |
काठमाडौं । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति कायमै रहनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
वादी समुदाय उत्थान विकास समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्ने अधिकांश व्यक्ताहरुले वादी उत्थान विकास समिति आन्दोलनको जगबाट स्थापना भएकाले यसलाई अझै अधिकार सम्पन्न र सशक्त बनाएर लैजानुपर्नेमा जोड दिए । राज्यले समिति नै खारेजीको प्रक्रिया अगाडि बढाउनु सिंगो वादी समुदायमाथी नै राज्यले आक्रमण गरेको बताएका हुन ।
कार्यक्रममा वादी उत्थान विकास समितिको सदस्य सचिव महेश नेपालीले कार्यपत्र प्रस्तुत गर्दै वादी समुदायको आत्मसम्मान र पहिचानको लागि आन्दोलनकै क्रममा २०६४ सालमा यस समुदायले ४८ दिने आन्दोलनको वाध्यात्मक अवस्थाबाट समितिको गठन भएको बताए । उनले पहुँच विहीनहरूको आवाज नसुनेझैँ गर्ने गरी सुतेको सिंहदरबारलाई ब्युझाउने गरी जब अभाव, उत्पीडन, बन्धन, छटपटी र वर्षौंदेखि गुम्सिएका आवाजहरू बाहिर प्रष्फुटन गर्दै अर्धनग्न महिलाहरू सिंहदरबारको दक्षिणी गेटमा चढी आफ्ना आधारभूत आवश्यकता परिपूर्ति, समुदायको आत्मसम्मान र पहिचानको मुद्दालाई सम्बोधका लागि सरकारलाई घुडा टेकाए पश्चात समितिको गठन भएकोले यसलाई अझ सशक्त र अधिकार सम्पन्न बनाई लैजानु पर्ने बताए ।
वादी समुदायको उत्थानको लागि समुदाय र सरकार २०६९ वैशाख १५ गतेका दिन समिति गठन गरी यसले समुदायको परिवर्तन, उत्थान, विकास, प्रगतिको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको उनले बताए । उनले लेखक तथा कलाकारहरुले पैसा कमाउनका खातिर वादीको अस्थित्व माथीनै आँच पुर्याउने गरि चलचित्र तथा पुस्तक लेखन गरेकोप्रति खेद व्यक्त गरे ।
संघीयता कार्यान्वयनको र व्यवस्थापनको नाममा वादी समुदाय उत्थान विकास समितिलाई पनि खारेजीको प्रक्रृयाले गरिब, निमुखा, सर्वहारा, बर्षौदेखि राज्यसंयन्त्रको मुलप्रवाहबाट किनारामा रहेका र न्याय नपाई तड्पिएका बर्ग, समुदाय वादीमाथी आघात पुगेको उनले दावी गरे ।
उनले खारेजी र पुनःसंरचना गर्दा आवश्यकता, औचित्यता, तत् सम्वन्धि समुदायको अवस्था, बसोबासको स्थिति, समुदायको स्तर र पँहुचको आधारमा गरिनुपर्छ । आवश्यकता र औचित्यको चश्माबाट हेर्ने हो भने नेपालको सबैभन्दा पछाडी पारिएको, यौन शोषणको कालो तिलक पहिरिएको बादी समुदायसँग सम्वन्धित राज्यको संयन्त्र बादी समुदाय उत्थान विकास समितिको खारेजीको कुरा कहाँबाट, कसरी र किन आयो पन्न गरे ।
कार्यक्रममा सांसद पार्वती विशंखेले आफूलाई कुनै राजनीतिक कोणबाट सांसद नभएका बताउँदै वर्गीय र समुदायको अधिकार स्थापना गर्न लड्दै आएको र त्यहि आन्दोलनको जगबाट आएको बताइन् ।
पूर्व सभासद हरि श्रीपालीले वादी उत्थान विकास समिति अन्य समिति, वोर्ड र प्रतिष्ठानभन्दा भिन्न समिति भएको र यस गठन पनि अर्र्कै खालको भएकाले यसलाई खारेजी गर्न नहुनेमा जोड दिए । त्यस्तै अधिकारवादी निर्मला कुमारी वादीले वादी जातीको संवेदनशिलतालाई पैसामा रुपान्तरण गरी कमाइ खाने भाडा बनाएको बताइन् । उनले नथिया र ऐलानी उपन्यास र पण्डित बाजेको लौरी चलचित्रमा प्रयोग भएका शब्दलाई लिएर आपत्ती जनाउँदै यसलाई तत्काल रोक लगाई त्यस्ता लेखक तथा निर्मातालाई कानूनी कारवाही गर्न माग गरिन् ।