एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा गुल्मीको ठूलो पोखरामा |
काठमाडौं । एनआईसी एशिया बैंकले गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलो पोखरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सो सेवाको उद्घाटन सोही गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष हीराबहादुर खत्रीले गरेका हुन् ।
शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले खुमलाल अर्याललाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ । यो सेवा सञ्चालनमा आएसँगै अब त्यहाँका स्थानीय बासिन्दाले बैंकिङ कारोबारका लागि लामो दूरीसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ । योसहित बैंकका शाखारहित बैंकिङ सेवा संख्या १७ पुगेको छ ।
उक्त शाखारहित सेवाबाट निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न, मोबाइल रिचार्ज गर्न, टेलिफोन, मोबाइल, एडीएसएल, डिस होमको महसुल भुक्तानी गर्न, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।
एनआईसी एशियाका मुलुकभर २ सय ३६ शाखा कार्यालयहरू, २ सय २९ एटीएम, १४ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् । बैंकको वासलातको आकार १ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको उक्त बै.ंकले १ खर्ब २० अर्ब कर्जा लागनी गरेको छ । बैंकमा ग्राहकहरूको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।