लकडाउन खुकुलो बनाऊ ː नाडा | कर बुझाउने समय जेठमा सार्न र बैंकले पनि ब्याज छुट दिन माग
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लकडाउनलाई केही खुकुलो बनाउन माग गर्दै ब्याज बुझाउने समय ६ महिना थप गरिदिन माग गरेको छ ।
नाडाले बुधबार विज्ञप्ति जारी गर्दै लकडाउन थपिँदा अन्य समस्याहरु पनि थपिएको भन्दै केही खुकुलो बनाउन माग गरेको हो । देशको अर्थतन्त्रलाई केही मात्रामा भएपनि चलायमान बनाउनका लागि लकडाउन खुकुलो बनाउनु पर्ने नाडाको तर्क हो ।
नाडाले अटोमोबाइल उद्योग, वर्कशप, शोरुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनुपर्ने तलबका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरे अनुसार लकडाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गरिनुपर्ने जनाएको छ ।
साथै श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीनवटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्न पनि नाडाले भनेको छ । लकडाउनको अवधि थप लम्बिँदै गएको अवस्थामा स्थितिको मूल्यांकन गरेर पारिश्रमिक भुक्तानी स्थगित गर्नु उपयुक्त हुने तर्क नाडाको छ ।
भन्सार परिसरमा भएका सवारी साधन तथा स्पेयर्स पार्टस लगायतका वस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा गर्न पनि माग गरेको छ । त्यसैगरी भारत तथा तेश्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि सतप्रतिशत मिनाहा गर्न पनि नाडाले माग गरेको छ ।
राष्ट्र बैंकको २ प्रतिशत बैंक ब्याज घटाउने निर्णय सकारात्मक भएको भन्दै नाडाले अहिलेको सन्दर्भमा बैंकहरुले पनि उत्तरदायित्व बुझेर आ–आफनोतर्फबाट पनि केही छुटको घोषणा गर्नुपर्ने पनि सुझाब दिएको छ ।
मूल्य अभिवृद्धि करको रकम बैशाख २५ गतेसम्म बुझाउनुपर्ने व्यवस्थालाई जेठ २५ गतेसम्म पुर्याहउन भनेको छ । देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन अब बैशाख २६ गतेदेखि व्यापार व्यवसाय र उद्योगक्षेत्रलाई सुरक्षित बनाउदै आफनो व्यापार व्यवसाय सञ्चालनका लागि लकडाउन खोल्नुपर्ने माग नाडाको छ । अब पनि लकडाउन अवधि थपिएमा उद्योगी तथा व्यवसायीहरु धराशायी हुने उसले विज्ञप्तिमा उल्लेख गरेको छ ।