शुरु भयो जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गको परीक्षण |
काठमाडौं । जनकपुर–जयनगर ब्रोडगेज रेलमागको परीक्षण शुरु गरिएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको हो । कम्पनीले बाँकी खण्डको पनि छिट्टै परीक्षण गर्ने रेल विभागले जानकारी दिएको छ ।
ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि परीक्षण सुरु गरिएको हो । यो रेलमार्गमा भाडामा रेलगाडी ल्याएर कन्ट्रयाक्टमा चलाउन दिन तयारी अघि बढाइएको छ । सरकारले करिब डेढ वर्षसम्म रेल भाडामा लिएर चलाउने मोडालिटी टुंग्याएको छ । आगामी डिसेम्बरदेखि जनकपुर–जयनगर रेल चनाउने तयारी सरकारको छ । रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको गर्न लागेको हो । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि आउटसोर्सिङ गर्न लागिएको विभागले जानकारी दिएको छ । आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्न लागिएको छ ।
यो विस्तारको काम सन २०१४ बाट सुरु भएको थियो । यसैकारण जनकपुर–जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ । ३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ ।
१९९४ सालमा तत्कालीन ब्रिटिशकालमा महोत्तरी जंगलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर) मा सीमित हुन पुगेको थियो । प्रस्तावित रेल विस्तार तथा स्तरोन्नति परियोजनाअन्तर्गत रेलसेवा लाई २ वर्ष भित्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।