इलोन मस्कको एउटा ट्वीटले टेस्लाको बजार मूल्य १४ अर्ब अमेरिकी डलरले घट्यो, यस्तो छ ट्वीटमा |
काठमाडौं । टेस्लाका संस्थापक इलोन मस्कको ट्वीटका कारण अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बजार मूल्यमा १४ अर्ब अमेरिकी डलरले गिरावट आएको छ । इलोन मस्कको ट्वीटका कारण लगानीकर्ताहरूले सेयर बेचेका कारण मस्कको व्यक्तिगत सम्पत्ति पनि तीन अर्बले कम भएको छ ।
टेस्लाको सेयर मूल्य धेरै नै बढी रहेको आफ्नो विचार रहेको ट्वीट गरेका मस्कले आफ्नो अचल सम्पत्ति पनि बेच्ने ट्वीट गरेका छन् । अन्य ट्वीटहरूमा उनले आफ्नो प्रेमिका आफूसँग धेरै रिसाएको समेत लेखेका छन् ।
सन् २०१८ मा न्यूयोर्क स्टक मार्केटमा टेस्लाको भविष्यबारे ट्वीट गर्दा उनलाई नियामक निकायले दुई करोड डलर जरिवाना गर्नुका साथै त्यसपछि गर्ने ट्वीटका लागि वकिलबाट स्वीकृत लिनुपर्ने निर्णय गरेका थिए । वाल स्ट्रीट जर्नलले मस्कलाई त्यो ट्वीट एउटा हल्का टिप्पणी थियो कि भनी गरेको प्रश्नमा उनले होइन भनेको लेखेको छ ।
यो वर्ष टेस्लाको शेअर मूल्य बढेर कम्पनीको बजार मूल्य एक खर्ब अमेरिकी डलर नजिकै पुगेको छ। बजार मूल्य एक खर्ब पुगेको अवस्थामा कम्पनीले लगानीकर्ताहरूलाई करोडौँ डलर लाभांश दिनुपर्ने हुन्छ ।
विवादास्पद ट्वीट गरिरहने मस्कले आफ्ना झन्डै साढे तीन करोड फलोअरहरूलाई कोरोनाभाइरसको बेलामा गरिएको लकडाउनको चर्को आलोचना गरेका थिए । मस्कले बेच्ने भनेको सम्पत्तिमा उनले सन् २०१३ मा किनेको घर पनि पर्छ ।