साढे ५३ हजारभन्दा बढीको नमुना परीक्षण सकियो, क्वारेनटाइनमा बस्नेको संख्या २० हजार नाघ्यो |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म साढे ५३ हजारभन्दा बढीको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्या्पिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट सो बराबरको नमुना परीक्षण भएको जानकारी गराएका हुन् ।
उनका अनुसार आरडिटी विधिबाट ४३ हजार ६३ र पीसीआर विधिबाट १० हजार ४७१ गरी कुल ५३ हजार ५३४ नमुना परीक्षणहरु सम्पन्न भएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार आरडिटी विधिबार प्रदेश १ मा ४ हजार ५४५, प्रदेश २ मा ५ हजार २०८, बाग्मती प्रदेशमा ७ हजार ६२६, गण्डकी प्रदेशमा ४ हजार ९२४, प्रदेश ५ मा ३ हजार ४७१, कर्णाली प्रदेशमा ५ हजार १२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ वटा नमुना परीक्षण सम्पन्न भएको छ ।
आरडीटी माध्यमबाट गरिएका परीक्षणहरु पोजिटिभ देखिएमा पीसीआर प्रणालीबाट पुनː परीक्षण भएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुने उनले जानकारी गराए ।
सरकारले परीक्षणको दायरा बढाउदै लगेको जानकारी गराउदै उनले राप्ति प्रतिष्ठानबाट पनि पीसीआर परीक्षण शुरु भएको बताए । योसंगै पीसीआर परीक्षण गर्ने स्थान १६ पुगेको छ ।
हाल २० हजार १९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयको तथ्यांक छ । यस्तै, उपत्यका भित्र ८ र उपत्यका बाहिर ९८ जना गरी १०५ जना आईसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
हाल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । त्यसमध्ये निको भएर फर्किनेको संख्या १६ रहेको छ । बाँकी ३६ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।