डा. गोविन्द केसी पत्रकार सम्मेलनमै रोए | सम्झौता तत्काल कार्यान्वयन नभए कडा कार्यक्रम ल्याउने चेतावनी
काठमाडौं । लामो समयको अनशन तोडेर त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्नबाट वञ्चित भएको भन्दै रोए । मंगलवार आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. केसी त्यसरी रोएका हुन् ।
पत्रकार सम्मेलनमा उनले सरकारले आफूसित गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन तोडमोड नगरी शीघ्र जारी गर्न आग्रहसमेत गरे । उनले उक्त सम्झौतामुताबि काम नभएको खण्डमा अझ कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुनेसमेत बताए ।
सो अवसरमा डा. केसीले सरकार र आफूबीच भएको सम्झौता तत्काल पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले चिकित्सा शिक्षा ऐनसम्बन्धीबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउन, जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई कारबाही गर्ने सम्झौता लगायतका छबुँदे सम्झौतालाई पनि तत्कालै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।