इन्टरनेटको पैसा सकिएपनि लकडाउनको अवधिभर लाइन नकाटिने |
काठमाडौं । इन्टरनेटको पैसा सकिएपनि अब लाइन नकाटिने भएको छ। बैशाख ५ गते शुक्रबार नेपाल दुरसञ्चार प्राधिकरणले इन्टरनेटको पैसा सकिएपछि लकडाउन अवधिभर लाइन नकाट्न निर्देशन दिएको हो ।
कोरोना भाईरसको संभावित संक्रमण फैलिन नदिन तथा रोकथामको लागि नेपाल सरकारले मुलुकभर लकडाउन गरेको अवस्थामा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्नेमा केही इन्टरनेट सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएकाले लकडाउन अवधिभर इन्टरनेटको लाइन नकाट्न निर्देशन दिएको हो ।
लकडाउन अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टरनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकोले सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टर्नेट सेवा समेत बन्दाबन्दी अवधिभर निरन्तर सञ्चालन गर्न निर्देशन दिएको हो ।
साथै प्राधिकरणले इन्टरनेट इमेल सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरु (प्रमुख दूरसञ्चार सेवा प्रदायकहरु लगायत) लाई लकडाउन अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।