२५ विदेशी उत्पादनले पाए एनएस चिन्ह |
काठमाडौं (आपास) । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी २५ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । विभागले आर्थिक वर्ष २०७४÷७५ मा भारत र चीनका २० उद्योगले उत्पादन गरेका २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो ।
विभागले एनएस चिन्ह प्रदान गरेका ती वस्तुहरूमा १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक रहेका छन् । नेपालले गतवर्षदेखि मात्र विदेशी उत्पादनलाई एनएस चिन्ह प्रदान गर्न थालेको हो ।
विभागले सलुजा स्टिल, टाटा स्टिल, विके स्टिल, सूर्यशक्ति भेसल्स, स्टार सिमेन्ट, जेपी रेवा प्लान्ट, क्यालकम सिमेन्ट, ग्याँस ड्रोइड इन्जिनियरिङ, सर्वमंगल पेट्रोलियम, सुप्रिम इ प्रालि, टाइम टेक्नोप्लाष्ट, प्रभा इलेक्ट्रोनिक्स, बात्रा एशोसियट्स र दिल्ली एलपीजीलगायतका भारतीय उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनले पनि एनएस चिन्ह प्राप्त गरेको छ ।