कोरोना संकटविरुद्ध लड्न विश्व बैंकसँग ३ अर्ब ४८ करोड ऋण |
काठमाडौं । विश्व बैंकले कोरोना संकटसँग जुध्न नेपाल सरकारलाई २९ मिलियन डलर (करीव ३ अर्ब ४८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता प्रदान गरेको छ ।
कोभिड १९ आपतकालिन, महामारी पूर्वतयारी तथा योजना अन्तर्गत विश्व बैंकले उक्त रकम बराबरको ऋण सरकारलाई दिएको हो । यो ऋण द्रुतप्रक्रियाबाट सरकारले प्राप्त गर्नेछ ।
ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा मंगलबार विश्व बैंक र अर्थमन्त्रालयबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौताससँगै ऋण सहायता कार्यान्वयनमा समेत आएको विश्व बैंकले जनाएको छ । सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले हस्ताक्षर गरेका छन् ।
यसअघि १६ चैतको मन्त्रीपरिषद् बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको थियो । यस परियोजना अन्तर्गत प्राप्त रकम कोरोना भाइरसविरुद्ध नेपालको क्षमता अभिवृद्धिमा प्रयोग हुने विश्व बैंकले जनाएको छ ।
बढीभन्दा बढी परीक्षण गरी सम्भावित संक्रमित पत्ता लगाउन समेत यो रकमको उपयोग हुने भएको छ । देशभर आकस्मिक स्वास्थ्य क्षमता र पूर्वाधार बढाउन समेत यो रकम प्रयोग गरिने भएको छ । महामारीविरुद्ध लड्न विश्व बैंकले छोटो अवधीको तयारीकै बीच गरेको सहयोग प्रति अर्थसचिव शिशिरकुमार ढुंगानाले आभार व्यक्त गरेका छन् ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा सबै प्रयास जारी राखेको भन्दै यसले अर्थतन्त्रमा भने प्रभाव पार्ने उल्लेख गरे । कोरोनाको संक्रमणपछि अर्थतन्त्रलाई माथि उकास्ने प्रयासमा समेत विश्वबैंकबाट सहयोग प्राप्त हुने अपेक्षा उनको थियो ।
नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले यस सहायताले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट लड्न मद्दत पुग्ने बताए ।
विश्व बैंकका अनुसार यो परियोजना विकाससिल मुलुकका लागि अन्तराष्ट्रिय विकास संघ (आइडीए)द्वारा प्रदान गरिने वित्तीय सहायतामा आधारित रहेको छ । द्विपक्षीय सम्झौतासँगै सहायता कार्यान्वयनमा आएको छ ।
Visited 1 times, 1 visit(s) today