घर बाहिर नजाऊँ है…कोरोनाले समाउला, प्रहरी जवान धिरज लिम्बूको अपिल |
काठमाडौं । ’घुम्तीमा नआऊ है..’ गीतको भाकामा ’घर बाहिर नजाऊँ है..कोरोनाले समाउला..’ भन्दै प्रहरी जवान हुन् धिरज लिम्बूले चोक चोकबाट अपिल गरेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीको फेसबुकमा पोस्ट भएको उक्त भिडिओमा राखिएको परिमार्जित गीत ’घर बाहिर नजाऊँ है…’ लेखेका हुन् नारायण डंगोलले ।
गीतकार डंगोल इटहरीकै हुन् । उनले यसअघि थुप्रै चुनावी गीत र बालगीतहरू लेखेका थिए । गत साता उनले ’आज–तक’ च्यानलमा भारतका एक डिएसपीले कोरोना भाइरस सचेतनामूलक गीत गाइरहेको देखेछन् । त्यसले उनलाई छोयो ।
’गीतको माध्यमबाट नेपाल प्रहरीले पनि सचेतना फैलाउन सक्छ है’ भन्ने लागेपछि उनी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीको सम्पर्कमा आए । अहिलेको समयमा प्रहरीमार्फत् नै सुनाउँदा थप प्रभावकारी हुने महशुस भयो । त्यसैले इलाका प्रहरीसँग सम्पर्क गरेँ, उनले भने ।
डिएसपी भण्डारीलाई पनि ’आइडिया’ राम्रो लाग्यो । डंगोलले कोरोना भाइरस सचेतनाका लागि गीत रचना गरीवरी तयार पारेका थिए । डिएसपी भण्डारीले त्यो स्वीकारे ।
घर बाहिर नजाऔं है..कोरोनाले समाउला..' का गायक प्रहरी जवान धिरज लिम्बू (बायाँ) र रचनाकार नारायण डंगोल।
’तर मलाई गीत गाउन आउँदैन । प्रहरी जवान धिरजलाई गीत–संगीतको ज्ञान थियो । उनैलाई गीत गायनका लागि भन्यौं,’ डिएसपी भण्डारीले भने, ’लिरिक्स तयार थियो, गायक पनि तयार । भोलिपल्टै रेकर्डिङमा लाग्यौं ।’
संगीत निर्देशन बालकृष्ण कार्कीले गरिदिने भए । डंगोलले झन्डै पाँच मिनेट लामो गीत तयार पारेका भए पनि ’ट्रयाक’ नमिलेका कारण तीन मिनेट बाह्र सेकेन्डको मात्र भयो ।
घर बाहिर नजाऊँ है…
घर बाहिर नजाऊँ है…कोरोनाले समाउला, कोरोनाले समाउला
गाह्रो होला निस्केमा, परिवार जोगाउन, परिवार जोगाउन…
नदेखिने भाइरस हो यो, कतैबाट छिर्न सक्छ,
अमूल्य यो जीवनलाई धरापमा पारिदिन्छ,
पाउँदैन फेरि यस्तो नयाँ हाम्रो जीवन,
घर बाहिर नजाऊँ है…
स्यानिटाइजर, साबुन–पानी यसको रोकथाम
घरभित्रै बसिरहनु लकडाउनको बेला सबै हामी
अमूल्य यो जीवन बचाउनु सबै, सबैले
घर बाहिर नजाऊँ है…कोरोनाले समाउला..कोरोनाले समाउला..
’साँझपख गाडीमा हिड्छौं। जहाँ मान्छेको चहलपहल देख्छौं त्यहाँ हामी उनीहरू जहाँ छन्, त्यही रहन भन्छौं। यसपछि कोरोना सम्बन्धी बुझ्नुपर्ने केही कुरा भन्छौं र गीतमार्फत् उनीहरूलाई बुझाउँछौ,’ डिएसपी भण्डारीले भने ।
बिहीबारदेखि हरेक दिन साँझ तीन बजेदेखि सात बजेसम्म यसरी नै प्रहरीहरू हिँडिरहेको उनले बताए । दैनिक छदेखि सात टोल भ्याउँछन् ।
संगीतमार्फत सूचना दिँदा प्रभावकारी समेत भएको अनुभवमा उनले भने, ’प्रतिक्रिया राम्रो आइरहेको छ । गीतमार्फत् बुझाउँदा थप बुझेका छौं भन्नेहरू पनि छन् ।’
यस प्रकारको कामलाई निरन्तरता दिने उनी बताउँछन् । कोरोना भाइरस मानव जातिका निम्ति भयानक हो र सबै यसप्रति सचेत हुन जरुरी रहेको भन्दै गीतकार डंगोलले आफ्नो रचनामा कसरी बच्न सकिने सुझावहरू पनि राखेका छन् ।
गीतमा स्वर दिएका प्रहरी जवान धिरजले सचेतना गीत गाउने अवसर मिल्दा आफ्नो केही सपना पनि पूरा भएको महशुस गरेका छन् ।
’पहिल्यै देखि गीत गाउने रहर थियो । तर राम्रो मौका मिलेको थिएन । अहिले सन्देशमूलक गीत गाउँदै हिँड्दा सेवा र जिम्मेवारी निर्वाह गर्दैछु । साथै रहर पनि पूरा गर्दैछु,’ उनले भने ।
उनी पनि बोलेर वा माइकिङ मात्र गर्नुभन्दा गीत–संगीतका माध्यमबाट सूचना प्रवाह प्रभावकारी हुने मान्छन् । सबै तहले सामाजिक बनावट बुझेर त्यहीअनुसार चेतना फैलाउन जरूरी भएको उनी बताउँछन् ।
भिडिओ स्रोतः इलाका प्रहरी कार्यालयको फेसबुक/सप्तकोशी अनलाइन