कोरोना भाइरस ː संक्रमितको संख्या १२ लाखभन्दा बढि, मृतकको संख्या ६५ हजार नजिक |
अहिले सिङ्गो विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । तीन महिना अघि मध्य चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणले पछिल्लो समय युरोप र अमेरिकालाई धेरै प्रभावित पारेको छ ।
यसको रोकथामका लागि संसारका दुई सय बढी मुलुकले विभिन्न उपाय अपनाइरहेका छन् ।
धेरै मुलुकले यसको निश्चितः उपचार नभएकाले संक्रमण फैलिन नदिन आफ्नो मुलुकलाई आवश्यक्ता अनुसार आंशिक वा पूर्णरुपमा लक डाउन गरेका छन् ।
शुरुका दिनमा कोरोना भाइरसको इपिसेन्टर चीन भएपनि पछिल्ला दिनमा इटाली, स्पेन लगायतका युरोपेली मुलुक रहेकोमा हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका बनेको छ ।
पछिल्लो विश्व विवरण अनुसार संसारमा १२ लाख बढी संक्रमित भएकोमा एक चौथाइ संक्रमित अमेरिकाबाट रहेका छन् ।
हालसम्म संसारका १२ लाख १ हजार ७ सय ६७ जनामा यसको संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा ३ लाख ११ हजार ३ सय ७५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ ।
त्यसैगरी सबैभन्दा बढी संक्रमित रहेको मुलुकमा अमेरिकापछि क्रमशː स्पेन, इटाली, जर्मनी तथा फ्रान्स रहेका छन् ।
स्पेनमा संक्रमितको संख्या सवा लाख बढी छ भने इटालीमा करिब सवा लाख मानिसमा यसको संक्रमण भेटिएको छ ।
यस्तै जर्मनीमा ९६ हजारबढी संक्रमित भेटिएका छन् भने फ्रान्समा करिब ९० हजारलाई संक्रमण रहेको छ ।
त्यसैगरी संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ भने त्यसपछि क्रमशː स्पेन, अमेरिका, फ्रान्समा भएको छ ।
विश्वमा संक्रमणबाट कुल ६४ हजार ७ सय १० जनाको ज्यान गएको छ ।
यस्तै, संक्रमितमध्ये २ लाख ४६ हजार ४ सय ९६ जना निको भएका छन् । संक्रमित मध्ये हाल ९५ प्रतिशतको स्वास्थ्य अवस्था मध्यम छ भने ५ प्रतिशतको अवस्था गम्भिर छ ।
Visited 1 times, 1 visit(s) today